काठमाडौँ — बागमती प्रदेश सरकारले अब सवारी साधनको विवरण लिएर कागजका ब्लुबुक बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य गर्ने नयाँ डिजिटल प्रणाली सुरु गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको ब्लुबुक क्युआर कोड प्रणालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा एक समारोहमार्फत औपचारिक रूपमा शुभारम्भ गरेका हुन्।
नयाँ प्रणाली अन्तर्गत ब्लुबुकमा अब क्युआर कोड समावेश हुनेछ, जसले गर्दा प्रयोगकर्ताले मोबाइलमार्फत नै सवारी साधनसम्बन्धी सम्पूर्ण विवरण देखाउन सक्नेछन्। कागजी ब्लुबुक बोक्नुपर्ने झन्झट हट्नेछ।
यो सेवा नागरिक एपसँग समेत एकीकृत गरिएको छ। अब नागरिकहरूले डिजिटल माध्यमबाट सवारी विवरण जाँच, ब्लुबुक नवीकरणलगायतका सेवा सहज रूपमा लिन सक्नेछन्।
मन्त्रालयका अनुसार यस प्रणालीको कार्यान्वयनले सेवा प्रक्रियामा पारदर्शिता बढाउने छ भने बिचौलियाको संलग्नता हटाउँदै, सरकारी सेवामा सिधा पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।