विराटनगर । सुनसरीको धरानबाट हराएको यात्रुबाहक बस चार दिनपछि विराटनगरमा फेला परेको छ।

शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ स्थित दुर्गापथको एक ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ च ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारे क्षेत्रमा भेटिएको हो।

बस ग्यारेजबाट हराएको अवस्थामा भेटिए पनि त्यसको पार्टपुर्जा निकालिएको थियो। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्। प्रहरीले दिएको जानकारी अनुसार, बसका केही पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएको एक कबाडी गोदाममा भेटिएका छन्।

सीसी क्यामेराका फुटेजमा उक्त बस पूर्वपश्चिम राजमार्ग हुँदै खोर्सानेबाट विराटनगरतर्फ गएको देखिए पनि तत्काल फेला परेको थिएन। मंगलबार दिउँसो मंगलबारेमा बस बेवारिसे अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

हाल बस चोरीमा संलग्न गिरोहको खोजी भइरहेको प्रहरीले जनाएको छ। पहाडी रुटमा चल्ने सो बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी यातायात’ र तल्लो भागमा ‘याक्थुङ यातायात’ लेखिएको छ।