काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताए । नेपाल शिक्षक सङ्घका प्रदेश अध्यक्षहरूसँगको छलफलमा बिहीबार सभापति देउवाले शिक्षकका माग सम्बोधन हुनुपर्ने बताए। शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको समेत सो अवसरमा देउवाले बताए।
कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस शिक्षकको साथमा रहेको बताए। शिक्षक महासङ्घसँग यसअघि भएको सहमति र सम्झौतालाई आधारमानी आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ताको पहल थाल्नुपर्ने सो अवसरमा महरले बताए।

छलफलमा शिक्षक सङ्घका विभिन्न प्रदेशका अध्यक्षको उपस्थिति थियो । शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखेर शिक्षकहरू चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन् ।
२०८० असोजमा पनि शिक्षकहरूले राजधानी केन्द्रित आन्दोलन गरेपछि सरकारसँग छबुँदे सहमति भएको थियो । तर उक्त सहमति अहिलेसम्म कार्यान्वयन भएको छैन भने संविधान जारी भएको एक दशक बित्न लाग्दा पनि सङ्घीय संरचना अनुकूल शिक्षा ऐन बन्न सकेको छैन ।