काठमाडौं— गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा परी १३४ जना घाइते भएको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् । 

घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका गृहमन्त्री लेखकले जानकारी दिए । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसके बताएका छन् । 

मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको र १२ स्थानमा आगजनी गरेको बताए ।  

दुई पाङ्ग्रे, चार पाङ्ग्रे गरी ३९ सवारी साधनमा तोडफोड प्रदर्शनकारीले गरेको तथ्याङ्क मन्त्री लेखकले समिति बैठकमा प्रस्तुत गरे ।  घटनामा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जानकारी दिए ।