काठमाडौं — काठमाडौं महानगरपालिकाले नगर प्रहरी बल, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ ।
आइतबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी समावेश गरिएको छ । तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुने महानगरले जनाएको छ ।

सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन, वर्कसप, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नविनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारी साधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिने महानगरले जनाएको छ ।
काठमाडौं महानगर प्रहरी बलका ८३ जना नगर प्रहरी जवानलाई आधारभूत तालिम प्रदान गरिएको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । कार्तिक ६ गते सुरु भएको तालिम मंसिर १७ गते समापन भएको हो । तालिम समापनको अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले प्रमाण पत्र प्रदान गरेका थिए ।