काँक्रेविहार (सुखेत) । प्रदेश अस्पताल सुर्खेतमा ‘याथल्याब’ सेवा सुरुआत भएको छ । वीर अस्पतालका विज्ञसहित प्रदेश अस्पतालको स्वास्थ्यकर्मीको टिमले ‘बाइप्लेन क्याथल्याब’ मेसिन जडान गरेको थियो । 

उक्त मेसिनबाट बिरामीको एनजिओग्राफी सेवा सुरु भएसँगै मुटुरोगीहरूको जाँचका साथै क्याथल्याब सेवासमेत सुरु भएको सूचना अधिकारी तथा मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले जानकारी दिए । यही फागुन ५ गतेदेखि सुरु भएको सेवा अब नियमित हुने उनले बताए ।

OM Sai Pathibhara Hospital

कर्णालीका नागरिकलाई जटिल खालको  उपचार सेवा प्रदान गर्न उक्त मेसिन खरिद गरिएको उनले जानकारी दिए । यसबाट हृदयघात तथा  पक्षघातलगायत जोखिमबाट व्यक्तिलाई बचाउन मद्दत गर्ने उनले बताए । विशेषगरी मुटुका बिरामीका लागि उक्त मेसिन प्रभावकारी हुने गर्छ । रु ११ करोड लागतमा उक्त मेसिन खरिद गरिएको थियो ।

यसबाट रगतको नलीबाट क्याथेटर छिराएर मुटुसम्म पुगेर मुटुको नली ठिक भए÷नभएको जाँच गर्ने, मुटुका विभिन्न अध्ययन गर्ने, बन्द भएको रगतको नली खुलाउनेजस्ता प्रोस्युडर गरिने चिकित्सकहरूले बताएका छन् । विगतमा हृदयघात भएपछि हस्पिटलमा छाती चिरेर मुटुको बन्द भएको नलीलाई अरु नलीसँग जोडेर मुटुको रक्तनली सञ्चालन ल्याउनुपर्दथ्यो। यसबाट ‘पोष्ट कम्प्लिकेसन’ आउनसक्ने सम्भावना हुन्थ्यो। अब केवल क्याथल्याबमा हात वा खुट्टाको रगतको नलीबाट क्याथेटर छिराएर बन्द भएको रगतको नली सफा गरेर जाली राखेपछि फेरि रगतको नली पुनःस्थापना गरिने बताइएको छ ।