काठमाडौँ । पर्वत–४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन ।  दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।

उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो ।  उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाएकी हुन् ।

OM Sai Pathibhara Hospital
OM Sai Pathibhara Hospital

उनले भनिन्, ‘सात–आठ वर्ष अगाडिदेखि आँखाले  धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भए । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ ।’ उसो त उनको छोराछोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहेका छन् ।

दुई वर्षदेखि पूर्णरुपमा अन्यकै सहरामा जीवन निर्वाह गरिरहेकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसि हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भनिन्, ‘अब यो जुनिमा फेरि संसार देख्न पाउछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भएपनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।’

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमतिजस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो । 

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो । 

शिविरकै लागि बेलायतबाट नेपाल आउनुभएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

सो अवसरमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित विभिन्न निकायसँगको सहकार्यमा सङ्घले आफ्नो सञ्जालमार्फत अस्पतालको पहुँचबाट टाढा रहेका नागरिकलाई वार्षिक सयौँ शिविरको आयोजना गरी उपचार सेवा प्रवाह गरिरहेको बताए ।

उनले भने, ‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभाव तथा पहुँचको अभावका कारणले गर्दा रोग लिएर बसिरहन बाध्य छन् त्यसैले सङ्घले उहाँहरुको घर आगनमै गएर गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ ।’ हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हरी विक्रम अधिकारीको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको शल्यक्रिया गरेको थियो ।