चितवन । यहाँको सङ्घीय भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी आफैले लिनसक्ने व्यवस्था गरेको छ । अस्पतालले एक मेसिन खरिद गरी बिरामीको परीक्षण रिपोर्ट आफै लिन मिल्ने व्यवस्था गरेको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले परीक्षण रिपोर्ट लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य गर्न मेसिन जडान गरिएको बताए । उनका अनुसार करिब रु सात लाखमा मेसिन खरिद गरी जडान गरेर सञ्चालनमा ल्याइएको छ ।

OM Sai Pathibhara Hospital

अस्पतालका इञ्जिनीयर चन्द्रमणि बस्यालले आफ्नो रिपोर्ट आफैँ प्रिन्ट गरेर लिन सक्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘नमूना परीक्षण गर्न दिएका बिरामीले बिलमा भएको क्युआर कोड स्क्यान गरी रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिन्छ ।’ क्युआर कोड स्क्यान गरी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनको परीक्षण सफल भएसँगै बिरामीको सेवा सुरु गरिएको उनले बताए ।

मेसिनबाट एक मिनेटमा तीन वटासम्म रिपोर्ट निकाल्न सकिने बस्यालले जानकारी दिए । उनका अनुसार थप एउटा मेसिन पनि थप खरिद गर्ने अस्पतालको योजना रहेको छ । रिपोर्ट प्रिन्ट गर्ने मेसिन प्रयोगमा आएसँगै प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने उनले बताए ।

अस्पतालले प्रयोगशालामा नमूना सङ्कलन गर्दा बिलसँगै क्युआर कोड दिने गरेको छ । सोही क्युआर कोड मेसिनमा देखाएपछि मेसिनले रिपोर्ट दिने गर्दछ । रिपोर्ट तयार हुन लाग्ने समयपछि मेसिनमा गएर क्युआर कोड स्क्यान गरेपछि रिपोर्ट हेर्न र प्रिन्ट गरेर लैजानसमेत सकिने व्यवस्था गरिएको छ ।

मोबाइल प्रयोगकर्ताले क्युआर कोड मोबाइलमै स्क्यान गरेर पनि रिपोर्ट हेर्न सकिने बस्यालले बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले बिरामीको चाप अधिक भएपछि स्वचालित मेसिन ल्याइएको बताए । उनले भने, ‘हामीले बिरामीलाई थप सहज रूपमा सेवा दिन यो मेसिन प्रभावकारी हुने विश्वास लिएका छौं ।’ पछिल्लो समय भरतपुर अस्पतालले आफ्नो सेवामा धेरै सुधार गर्दै आएको छ ।

अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामीले बहिरंग सेवा लिने गरेका छन् । अस्पतालको थप सेवाका लागि चार वटा भवन निर्माण हुँदै गरेको उनले बताए । अस्पतालमा ट्रमा सेन्टर, सरुवा रोग नियन्त्रण भवन, क्याथ ल्याब र नर्सिङ कलेज निर्माणको क्रममा रहेका छन् । यी भवन निर्माणको काम सम्पन्न भएसँगै बिरामीलाई थप सहज हुने प्राडा पौडेलको भनाइ छ ।