ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण विवादलाई लिएर गरिएको हड्तालको यातायात व्यसवायीले विरोध जनाएका छन् ।
केबलकार निर्माणको विरोधमा उत्रिएको समूह र सुरक्षाकर्मीबीच गत शनिबार झडप हुँदा २६ जना घाइते भएका थिए । ५ जना अन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका हुन् । घाइते हुनेमध्ये २ जनालाई प्रहरीको गोली लागेको थियो ।उक्त घटनाको विरोधमा केबलकार विरोधी समूहले मेची राजमार्गअन्तर्ग ताप्लेजुङ सडक खण्ड बन्द गराएको छ । बन्दका कारण जनतजीवन अस्तव्यस्त बनेको छ । माग पूरा नभएको बहानामा यातायात बन्द गरिँदा सर्वसाधारणले ठूलो कष्ट बेहोर्नु परिरहेको छ ।
समस्यामा परेका सर्वसाधारणले भनेका बेला सवारीसाधन चढेर गन्तव्यसम्म पुग्न पाएका छैनन् । सर्वसाधारण मारमा पर्ने गरी गरिएको बन्द र हड्तालको चौतर्फी विरोध भइरहेको छ । आन्दोलनका नाममा बन्द र हड्ताल गर्न नहुने आवाज उठिरहेको छ ।माग पूरा नहुँदा सवारीसाधनसमेत चल्न नदिएको भन्दै यातायात व्यवसायीले विरोध जनाएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ इलामले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित भएको उल्लेख गरेको छ ।
व्यवसायीहरुले २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मूल्यमा ऋण लिई ल्याइएको सवारीसाधन बन्द हुँदा यातायात व्यवसायी ब्याज र किस्ता तिर्न नसक्ने अवस्थामा पुग्ने भन्दै ध्यानाकर्षण गराएका छन् । मजदुर र परिवारको जीवनयापनमा समस्या भएको भन्दै वार्ता र संवादबाट समस्या समाधान गरी तत्काल यातायात बन्द खुला गर्नुपर्ने माग व्यवसायीले राखेका छन् ।