काठमाडौं । मेडिकल व्यवसायी तथा विवादास्पद राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा आइतबार राति ठूलो संख्यामा प्रहरी परिचालन भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ। प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरको टोली जरुरी पक्राउ पूर्जी लिएर प्रसाईंलाई नियन्त्रणमा लिएको हो। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो । 

यो घटनाक्रम त्यतिबेला भएको हो, जब प्रसाईंले केही घण्टाअघि मात्रै पत्रकार सम्मेलन गरेर वर्तमान सरकार र व्यवस्थाविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। उनले लोकतन्त्रको नाममा अभिव्यक्ति स्वतन्त्रता खोसिएको, नागरिक अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका थिए।

प्रसाईंको अभिव्यक्तिपछि तत्कालै प्रहरी उनको घर पुग्नुले राजनीतिक र सुरक्षा वृत्तमा अनेक प्रश्न उठ्न थालेका छन्। प्रहरीको कदम कुनै पुरानो मुद्दाको कार्यान्वयन हो कि आन्दोलनको घोषणापछि गरिएको पूर्वतयारी? यसबारे आधिकारिक धारणा सार्वजनिक भएको छैन।

सुरक्षा निकायका स्रोतहरू भने कुनै पनि सम्भावित अशान्ति रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको दाबी गर्छन्। यद्यपि प्रसाईं पक्षले यसलाई राजनीतिक दबाब र असहमत आवाज दबाउने प्रयासका रूपमा व्याख्या गरेका छन।

दुर्गा प्रसाईंमाथिको प्रहरी सक्रियता केवल एक व्यक्तिको पक्राउको विषय मात्र होइन, सरकार र असन्तुष्ट राजनीतिक शक्तिबीच बढ्दो तनावको संकेतका रूपमा पनि हेरिएको छ। यद्यपि पक्राउको कारण, कानुनी आधार र सरकारी आधिकारिक धारणा सार्वजनिक भएपछि मात्र घटनाको पूर्ण चित्र स्पष्ट हुनेछ।