काठमाण्डौ l पछिल्ला केही दिन ह्वात्तै बढेको तापक्रम क्रमशः घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च चापीय प्रणालीका कारण केही दिनअघि ह्वात्तै बढेको तापक्रम शुक्रबारदेखि भने घट्न थालेको हो ।
काठमाडौंमा अधिकतम तापक्रम २१.५ डिग्री रहेकामा आज २०.५ डिग्री मापन गरिएको छ । न्यूनतम तापक्रम पनि आज ४.८ डिग्री मापन भएको छ । यही माघ ९ गते काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री पुगेको थियो भने न्यूनतम तापक्रम पनि ६.२ डिग्री मापन गरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तापक्रम केही दिनअघिको तुलनामा घट्दै गएको बताउनुभयो । यद्यपि अहिलेको तापक्रम सामान्य भन्दा बढी नै रहेको उहाँको भनाइ छ ।
मौसमविद् पुडासैनीले भन्नुभयो- 'केही दिनअघिको भन्दा तापक्रम घटेको छ, मुख्यगरी यसअघि माथिल्लो वायुमण्डलमा उच्च चपीय प्रणाली थियो, अहिले त्यो सरेर गएकाले तापक्रम घटेको हो, अबको केही दिन यस्तै रहने देखिन्छ ।' उच्च चापीय प्रणालीले तातो बढाउँछ भने न्यून चापीय प्रणालीले चिसो बढाउने उहाँले बताउनुभयाे ।
मौसमविद् पुडासैनीले अबको ३ दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव भने यथावत रहने बताउनुभयो ।
आज उपत्यकाबाहिरका जिल्लामा पनि तापक्रम घटेको छ । यही माघ ९ गते दीपायलमा अधिकतम तापक्रम २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन गरिएको थियो । महाशाखाका अनुसार आज राति दीपायलको अधिकतम तापक्रम २५.२ डिग्री र वीरेन्द्रनगरको अधिकतम तापक्रम २४.४ डिग्री छ । अन्य मापन केन्द्रहरुमा पनि यही माघ ९ गतेको तुलनामा तापक्रम घटेको छ । जुम्ला र जिरीमा भने न्यूनतम तापक्रम माइनसमा पुगेको जनाइएको छ ।
- रासस






































