बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । 

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ । 

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा रु १६ लाख २० हजार ५०० बढी राजस्व सङ्कलन भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारवाही गरी रु एक करोड १६ लाख चार हजार राजस्व सङ्कलन गरेको थियो । 

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन् । 

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।