काठमाडौं— गैरसरकारी संस्था महासंघले असमानताविरुद्ध खबरदारी र्‍याली  सञ्चालन गरेको छ। 

असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासंघको अगुवाइमा सातै प्रदेशमा खबरदारी सभा हुँदैछ । 

OM Sai Pathibhara Hospital

जनवरी २१ मंगलबार गण्डकी प्रदेशको राजधानी पोखरामा र्‍याली सञ्चालन गरिएको छ। बिहान ८ बजे सुरु भएको र्‍यालीले नगर क्षेत्रमा परिक्रमा गरी कोणसभामा परिणतभएको थियो। गैरसरकारी  संस्था  महासंघ नेपाल गण्डकी  प्रदेश, कास्की  शाखाको आयोजनामा भएको र्‍याली सभागृह  चोकबाट जिरो किलोमिटर  चोकसम्म पुगेको थियो। र्‍यालीमा  गैसस  महासंघमा आबद्ध संस्थाको उपस्थिति रहेको सोभिना सुवेदीले जानकारी दिइन। 

र्‍यालीमा सहभागीले विश्वमा मानिसबीचको असमानता बढ्दो क्रममा रहेको र त्यसको व्यवस्थापनका लागि प्राकृतिक स्रोतसाधनमाथिको पहुँच वृद्धि गर्नुपर्ने बताएका थिए। 

POkhara (2)

यो खबरदारी सभा जनवरी २२ बुधबार कोशी प्रदेशको विराटनगर, बागमती प्रदेशको हेटौडा तथा कर्णाली प्रदेशमा मंगलबार प्राविधिक कारणले सञ्चालन हुन नसकेपछि बुधबारलाई नै सारिएको गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम केसीले जानकारी दिए।

त्यस्तै मधेस प्रदेशमा जनवरी २३ बिहीबार असमानताविरुद्धको खबरदारी र्‍याली सञ्चालन हुनेछ भने लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा जनवरी २४ शुक्रबार खबरदारी र्‍याली सञ्चालन हुने गैरसरकारी संस्था महासंघका केन्द्रीय महासचिव अर्जुन भट्टराईले जानकारी दिए।

यसअघि महासंघको अगुवाइमा काठमाडौंमा र्‍यालीसहितको खबरदारी सभा गरिएको थियो। शनिबार काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीले रत्नपार्क परिक्रमा गरी शान्तिबाटिकामा आएर कोणसभामा परिणत भएको थियो ।

NGO

कोणसभालाई सम्बोधन गर्दै महासंघका महासचिव अर्जुन भट्टराईले विश्वका १० प्रतिशत मानिसले मात्र विश्वको प्राकृतिक सम्पत्तिमा पहुँच भएको भन्दै बाँकी ९० प्रतिशतलाई पनि प्राकृतिक सम्पदाको पहुँच बढाउन खबरदारी गरिएको बताए।

भट्टराईले स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ५४ औँ सम्मेलनलाई एजेण्डा तय गर्नेगरी नेपालमा खबरदारी सभा आयोजना गरिएको बताए ।  

असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ गैर सरकारी संस्था महासंघले बढ्दो असमानताविरुद्ध आवाज उठाउँदै खबरदारी सभाको आयोजना गरेको हो। महासंघसहित नागरिक समाज र विभिन्न सामाजिक संघ संस्थाले प्राकृतिक स्रोतमा सबैको समान पहुँचको माग गरेका छन्। 

अहिले स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन जारी छ। यो सम्मेलनले साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाजलाई समेट्न खबरदारी सभा प्रभावकारी हुने अपेक्षा महासंघको छ।