सुन्दरहरैँचा (मोरङ) । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–८ स्थित जङ्गली हात्तीपीडित नागरिकले सर्वसाधारणको जीउधनको सुरक्षाको माग गर्दै सबडिभिजन वन कार्यालय सलकपुरमार्फत आज ज्ञापनपत्र बुझाएका छन् ।
हात्तीबाट त्रसित हुनुपरेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई जङ्गली हात्ती नियन्त्रण गर्न यहाँका पीडित नागरिकद्वारा ज्ञापनपत्र बुझाइएको स्थानीय शिक्षासेवी टीकाराम ढकालले बताए । सुन्दरहरैँचाको उत्तरीक्षेत्रमा लामो समयदेखि हात्ती गाउँबस्तीमा पसी भौतिक तथा मानवीय क्षति गरेको, दर्जनौँ घरहरू भत्काएको र बालीनालीमा हानि पु¥याएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘यस क्षेत्रका आमनागरिक हात्तीको त्रासबाट निदाउन सकिरहेका छैनन् त्यसैले नागरिकको जिउधनको सुरक्षाका लागि आवश्यक उपाय÷विकल्प अपनाउन आग्रह गर्दछौँ ।’ समयमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न स्थानीयले ज्ञापनपत्रमार्फत प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेका छन् ।
झापा, मोरङ र सुनसरीमा बस्ती आसपास पुगेर जङ्गली हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको सबडिजिजन वन कार्यालय मोरङले जनाएको छ । केही समयता नियमितजस्तै देखापर्ने जङ्गली हात्तीले वितण्डा मच्चाइरहँदा सर्वसाधारण त्रसित र भयभित भइरहेको सुन्दरहरैँचा पत्रकार समूहका अध्यक्ष बाबुराम निरौलाले बताए ।
जङ्गलबाट आहाराको खोजीमा मानव बस्ती निस्कने हात्तीको बथानले सर्वसाधारणको घर भत्काइदिने, बालीनाली नष्ट गर्ने, मानिस मार्नेलगायत गतिविधि गरी वितण्डा मच्चाइरहेको प्रहरीले जनाएको छ । जङ्गल क्षेत्रमा हात्तीको आवतजावत बाक्लो भएकाले एक्लै हिँडडुल नगर्न, सचेत हुन र हात्तीबाट सुरक्षित रहन प्रहरीले अनुरोध गरेको छ ।
करिब एक महिनाको अवधिमा सुन्दरहरैँचा–५ गुरुङ टोलका ६१ वर्षीया चन्द्रकुमारी लिम्बू, सुन्दरहरैँचा–७ स्थित सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठ र सुन्दरहरैँचा–८ भृकुटी टोल बस्ने ७१ वर्षीय हरिप्रसाद घिमिरेले हात्तीको आक्रमणबाट ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।