काठमाडौं । काठमाडौंमा बसेका इलामेलीले माघे सक्रान्ति पर्व मनाएका छन् । इलाम विकास समाजको अगुवाइमा भएको कार्यक्रममा गृह जिल्ला इलाम भइ काठमाडौंमा बसोबास गर्दै आएका इलामेलीको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि झलनाथ खनालले व्यक्तिगत विकासको विषयले नागरिकमा चिन्ता बढेको बताए । उनले भने, 'माघे संक्रान्ति वर्षेनी आइरहन्छ तर हाम्रो जीवन कसरी अगाडि बढिरहेको छ भन्ने कुरा महत्वपूर्ण हो । हामीले जीवनलाई अग्रगति दिने भनिरहेका बेला अगाडि बढिरहेका छौँ कि यथास्थितिमै छौँ अथवा पछाडि परेका छौँ भन्ने विषय अहिले चिन्ताको विषय हो ।'
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले देशको विकास तीव्र गतिले अघि बढोस् भन्ने सुभेच्छा राखिरहेका बेला तीव्र गतिमा पछि गएको हो कि भन्ने चिन्ता बढ्न थालेको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले दुई ठूला दल मिलेर दुई तिहाइ नजिकको सरकार बने पनि विकासको गति भने गति न मतिको अवस्थामा अघि बढेको बताए । उनले भने, 'देशमा विकासको गति बढ्नुपर्ने अवस्थामा अहिले दुई ठूला दल मिलेर दुई तिहाइ नजिकको मत भए पनि विकासको गति भने गति न मतिको अवस्थामा रहेको पाउँछु । यो हामी सबैका लागि चिन्ताको विषय हो ।'
नेता खनालले यहाँ खुसी साटासाट हुन भेला भएको सन्दर्भ उल्लेख गर्दै भाषण गर्ने भन्दा पनि फरक प्रतिभाका विषयमा कुराकानी गर्दा मज्जा आउने भन्दै आफूले लेखेको कविता प्रस्तुत गरेका थिए । आफू एक पटक बालुवाटारमा पुगेको प्रसंग कोट्याउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले 'बालुवाटरबाट हेर्दा' शीर्षकको कविता प्रस्तुत गरेका थिए । देशप्रेम झल्कने कविता प्रस्तुत गरेका खनाललाई इलामेले समर्थनको ताली बजाएका थिए ।
कार्यक्रम सञ्चालन गर्दै इलाम विकास समाजका सचिव अर्जुन भट्टराईले काम, पेशा र व्यवसायले गृहजिल्ला छाडेर राजधानी शहरमा बस्ने इलामेबीच मेलमिलाप गराउने गरी कार्यक्रम आयोजना गरिएको भन्दै यो भेलाले इलामको विकासका योजना बनाउन उपयोगी हुने बताए । उनले इलामको विकास र समृद्धिका लागि आआफ्नो तह र तप्कामा रहेका इलामेको पहल कदमी आवश्यक रहेको बताए ।
इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले काठमाडौंमा इलामे समाजको महशुस गराउने गरी यो कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, भूमि आयोग इलामका लागि नव नियुक्त अध्यक्षमा प्रकाश अधिकारीलाई सम्मानसहित सफल कार्यकालको शुभकामना अर्पण गरिएको थियो भने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, इलाम विकास समाजका सल्लाहकार शम्भू श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा इलामे कलाकार गणेश पराजुली, यशोदा पराजुली, श्रीदेव भट्टराई, रमेश बोखिम राईलगायतका कलाकारले सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागीले इलाम झल्काउने परिकार सेलरोटी, तरुल तथा चाकुको स्वाद ग्रहण गरेका थिए ।
कार्यक्रमस्थलमा इलाममा उत्पादन भएको चिया, ललिपप, घ्यू तथा महलाई प्रदर्शनीका रुपमा राखिएको थियो । इलामकै उत्पादन नौनी घ्यू काठमाडौंमा प्रतिकेजी सात सय ५० रुपैयाँमा उपलब्ध गराउँदै आएको इलाम अर्ग्यानिकका देवेन्द्र रिमालले बताए ।
उनले इलामेली तथा इलामको उत्पादन मनपराउनेले इलामकै दाममा काठमाडौंमा अर्ग्यानिक सामान उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।