काठमाण्डौ । जागरुक युवा अभियान नेपालको आयोजनामा आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। “नेपाली टोपीः हाम्रो पहिचान” भन्ने नाराका साथ युवाहरूले यस दिवसलाई उत्साहपूर्वक मनाइरहेका छन्।
राष्ट्रिय पोशाक दिवसको इतिहास:- विसं २०७० देखि जनवरी १ का दिन यो दिवस मनाउन थालिएको हो। नेपाली पहिचानका प्रतीक दौरा-सुरुवाल, टोपी, र गुन्यु-चोलीलाई युवाहरूमा पुनःस्थापित गर्ने उद्देश्यले यस अभियान सुरु गरिएको हो।
राष्ट्रिय पोशाक दिवसले नेपाली युवामाझ हराउँदै गएको परम्परागत पहिरनको महत्वलाई पुनःजागृत गराएको छ। विशेष गरी, विवाह, व्रतबन्ध जस्ता सांस्कृतिक उत्सवमा राष्ट्रिय पोशाक लगाउने चलन फेरी बढ्दै गएको छ।यस अवसरमा धेरैले दौरा-सुरुवाल, टोपी, गुन्यु-चोली लगाएका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। काठमाडौंका सडक र सार्वजनिक यातायातमा पनि राष्ट्रिय पोशाकमा सजिएका व्यक्तिहरूको उपस्थिति उल्लेखनीय छ।
आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुने जनाइएको छ। कार्यक्रममा राष्ट्रिय पोशाकको महत्वबारे छलफल हुने र सांस्कृतिक प्रस्तुति पनि हुने जानकारी प्राप्त भएको छ।
औपचारिक रूपमा राष्ट्रिय पोशाक हटाइएपछि, युवाहरूले पहिचान जोगाउन यो अभियान सुरु गरेका हुन्। दिवस मनाउन थालेपछि यो अभियानले राष्ट्रिय गौरव र पहिरनप्रतिको सम्मानलाई नयाँ उचाइमा पुर्याएको छ। राष्ट्रिय पोशाक दिवसले नेपाली संस्कृति र पहिचान जगेर्ना गर्न थप ऊर्जा प्रदान गर्दै आएको छ।






































