काठमाण्डू :शुल्क निर्धारण गरेको  एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन्। दैनिक औसतमा १२ सयको हाराहारीले धरहरा चढ्ने गरेका छन्। सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन्। सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताएका छन ।

बुधबार भने धरहरा बन्द हुने गरेको छ। ‘सशुल्क गरिएपछि पनि धरहरा चढ्ने बढिरहेका छन्,’ उनले भने , ‘धरहरा परिसरमै पुगेर टिकट लिने व्यवस्था गरिएको छ।’ सुरुमा निःशुल्क खुला गरिएकोमा गत नवंबर २४बाट शुल्क तोकिएको हो।

OM Sai Pathibhara Hospital

१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ।

तीन तला पार्किङको व्यवस्था गरिए पनि सञ्चालनमा आइनसकेकाले अहिले शुल्क उठाइएको छैन। बिहान १०देखि दिउँसो ४ बजेसम्म मात्र धरहरा चढ्न पाइने छ। ०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‍घाटन गरेको धरहरा निर्माणको काम अझै सकिएको छैन। ०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडियो। तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन ।