काठमाण्डू :नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी घटकहरुसँगको एकता प्रक्रियाबाट आफूहरु ब्याक नभएको र कोही अतालिनु नपर्ने बताएका छन् । माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटी बैठकले एकता नगर्ने भनी निर्णय गरेको भन्ने कुरा भ्रममात्रै रहेको बताएका हुन्। महासचिव विप्लवले आफूहरुले मोर्चा र एकताको ढोका सधैं खुल्ला राखेको बताए।
‘एकताका लागि हामी सकारात्मक छौं । हामी केन्द्रीय समितिको बैठक बस्यौं । ल अब नेकपा एकतामा नआउने भन्ने हल्ला पनि बाहिर छ । त्यो कुरा सत्य होईन । हामी सबै मिलेर एकता आवश्यक छ भन्ने निश्कर्षसहित हामी आएको हो । आजपनि एकताबाट पछि फर्किएको छैन । आवश्यक छ,’– उनले भने ।