काठमाण्डू :पाँच दशकभन्दा लामो योगदान दिएका डा. भीम रावल नेकपा एमालेबाट निकालिएका छन् । आफु निकालिएपछि एक अन्तर्वार्तामा भनेका छन्, एमाले पनि एमाले रहेन बा’माले भयो ।
बा मात्रै लेख भनेर यो उर्दी जारी भएको हो । किनभने अब उनले बा भन्ने युटुब च्यानल चलाएर मलाई समर्थन गर भनिसके त । यो कहाँ एमाले रह्यो ? यो त बा’माले भयो । मार्क्सवादी, लेनिनवादी होइन यो । बा’माले हो यो । अब म त्यसकारण रहने त कुरै भएन । मलाई निकालीएको बिषयमा यो केपी ओलीजीको निरंकुश तानाशाही र स्वेच्छाचारी निर्णय हो । यो देशको संविधान, पार्टीको विधान र सिद्धान्तसँग मिल्दैन । यस विषयमा लोकतान्त्रिक न्यायप्रेमी जनताले आवाज ओकल्ने छन् ।
मैले पाँच दशकसम्म देशको सर्वोपरि हितका लागि, न्यायका लागि, सुशासनका लागि, समृद्धिका लागि जुन आवाज उठाइएको छ । अहिले राष्ट्रको पक्षमा उठाएको आवाज उनको लागि सह्य हुन सकेन । उनले पदको लागि जोसँग र जुनसुकैसँग खाइरहने बाटो लिए । त्यो बाटो पनि एमालेको मान्यताप्रतिकूल थियो । उनले आफूले गर्ने मनपरीबारे कोही पनि बोल्न नसक्ने बनाए । महाधिवेशनमा पनि आफू एकछत्र तानाशााहका रूपमा रहन सकियोस् भन्ने आशयबाट अघि बढे । मैले जनता र देशको सर्वोपरि हित, न्याय र अधिकारको लागि ५० वर्ष अगाडिबाट काम गरेँ ।
त्यस क्रममा म अविचलित रहेँ । म अहिले पनि दृढ र अविचलित छु । आगामी दिनमा कसरी जाने भन्ने विषयमा जनता, कार्यकर्ता र शुभेच्छुक, वृद्धिजीवी सबैका धारणा सुनेर तय गर्नेछु ।