काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर गरेको हो ।
उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात पाँच सय र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अदालतमा दायर गरेको अभियोग पत्र ४२७ पृष्ठ लामो रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि उनलाई हिरासतमै फर्काइएको हो ।
जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस आरम्भ भएन ।यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो । अब उनी थुनछेक बहस नसकिञ्जेलसम्म कास्की प्रहरीकै न्यायिक हिरासतमा रहने छन् ।