काठमाण्डौ ।  सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।

OM Sai Pathibhara Hospital

सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने लगायत ५ जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ ।४२७ पृष्ठ लामो अभियोगपत्र सरकारी वकिलको कार्यालयले पेश गरेको छ।

सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा लामिछाने लगायतका आरोपितहरुमाथि संगठित आरोपमा समेत मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा.लि.मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो ।

कास्की प्रहरीको हिरासतमा रहेका गोरखा मिडिया नेटवर्कमा रविका व्यवसायीक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई(जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई, नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ लगायत ४४ जना विरुद्द मुद्दा दर्ता भएको छ।

सरकारी वकिलको कार्यालयले शुक्रबार सूर्यदर्शनका पूर्वअध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग पत्र दायर गरेको छ। सोमबार बयान हुने जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताएका छन।