धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झाडापखालाको समस्या लिएर भर्ना गरिएका १५ महिनाका बालकको डाक्टरको लापरबाहीका कारण ज्यान गएको छ।
बालकको परिवारजनले समयमै उचित उपचार नगरेको र चिकित्सकले पेसागत दायित्वप्रति गम्भीरता नदेखाएको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्। मृतकका बुबा मोहन खड्काका अनुसार, बालकलाई झाडापखाला सुरु भएपछि तत्कालै अस्पताल पुर्याइएको थियो।
परिवारले बारम्बार बालकको स्वास्थ्य गम्भीर भएको जानकारी गराउँदा पनि इमर्जेन्सीमा रहेका चिकित्सकहरूले बेवास्ता गरेका थिए। “डाक्टरले ‘बच्चा त हाँसिरहेको छ, केही हुँदैन, २–४ दिनपछि ल्याउनुहोस्’ भन्दै उपचारमा ध्यान नै दिएनन्,” बालकका बुबा खड्काले दुखेसो गरे।चिकित्सकले सही समयमा उपचार नगरेको मात्र नभई गलत औषधि दिएको आरोप पनि परिवारले लगाएको छ।
बालकको अवस्था बिग्रिँदै गएपछि परिवारले बारम्बारको अनुरोध गर्दा पनि चिकित्सकले जबर्जस्ती निजी अस्पताल लैजान दबाब दिएको भन्दै आक्रोश पोखेका छन्। पीडित परिवारले अस्पताल प्रशासनसँग जवाफ माग्दै दोषी चिकित्सकमाथि कडा कारबाहीको माग गरेका छन्। प्रतिष्ठानका निर्देशक डा. जगत नारायणले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै, पीडित परिवारको सहभागितामा आइतबार नै छानबिन समिति गठन गरिने र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।