इनरुवा  ।    नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनमा इस्राइल मंसुरी पुन सभापति र नईम अन्सारी सचिवमा निर्वाचित

नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कोशी प्रदेशको दोस्रो अधिवेशनबाट इस्राइल मंसुरी पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन । अधिवेशनले सचिवमा नईम अन्सारीलाई सर्वसम्मत रूपमा चयन गरेको छ। सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न अधिवेशनमा मुस्लिम समुदायका प्रतिनिधिहरू र नेपाली कांग्रेसका नेताहरुको व्यापक सहभागिता रहेको थियो ।

OM Sai Pathibhara Hospital
OM Sai Pathibhara Hospital

अधिवेशनको क्रममा विभिन्न वक्ताहरूले मुस्लिम समुदायका हक-अधिकारका मुद्दा उठाएका थिए। भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले मुस्लिम समुदायका लागि शिक्षा र समानताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुहुँदै मदरशा शिक्षालाई मान्यता दिन पहल गर्न आग्रह गरे । कोशी गाउँपालिका अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति ऐयुब अन्सारीले पनि मदरशा शिक्षालाई विद्यालय सरह मान्यता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

उनले विभेदका कारण मुस्लिम समुदायको सामाजिक र शैक्षिक स्तरमा असर परेको उल्लेख गर्दै, यदि समस्या समाधान नभए अधिकारका लागि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । कार्यक्रममा मुस्लिम समुदायका समस्या समाधानका लागि संगठनले थप सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता पनि चर्चा गरियो। वक्ताहरूले शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

अधिवेशनले मुस्लिम समुदायका अधिकार सुनिश्चित गर्दै विविध क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन संगठनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। इस्राइल मंसुरी र नईम अन्सारीको नेतृत्वमा नेपाल मुस्लिम संघ कोशी प्रदेशले आगामी दिनमा समुदायको समग्र विकासका लागि प्रभावकारी कदम चाल्ने अपेक्षा गरिएको छ।