झापा । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की दिनेलाई कार्वाहीको माग गरेको छ ।
सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष तुलाराम बोखिम र सचिव कालिप्रसाद रिजालले एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक संजाल प्रयोग गरी ज्यान मार्ने धम्की दिने जो कोहीलाई कानुनी कार्वाही गर्न माग गरेका हुन। उनीहरुले सताक्षीधाममा शिवमहापुराण जस्तो पवित्र धार्मिक कार्यक्रम संचालन भइरहेको अबस्थामा कोही कसैसंग चित्त नबुझे सम्बन्धित ठाउँमा आएर वार्ताद्वारा समस्या समाधान गर्न सकिने बाटो हुँदाहुँदै सामाजिक संजालमा गुरुहरुलाई अनर्गल गालीगलौज गर्नु र ज्यान मार्नेसमेतको धम्की दिनु खेदजनक भएको उल्लेख गरेका छन् ।
त्यस्तै गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले एक प्रेस विज्ञप्ति जारी गरी यज्ञका आचार्यलाई आएको धम्की, चारैतिरको दवाव र तिलककै कारण समाज विखण्डन हुन्छ भने समाज किन विखण्डन हुन दिने भन्ने धारणाले शिवलिङ्गबाट तिलक हटाएको जनाएका छन् । उनले यस कार्यबाट आफूलाई दुःख लागेको बताउँदै आगामी दिनमा हुने गौसेवा तथा हिन्दुराष्ट्र कायमको अभियानमा कसरी सहकार्य गर्ने भन्नेमा चिन्ता उत्पन्न गराएको बताएका छन् ।