काठमाडौं - आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज हरिबोधिनी एकादशीका दिन जागृत हुने धार्मिक मान्यतासहित देशभर विशेष पूजा र अनुष्ठान मनाइदैँछ । कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीक तुलसीलाई दामोदरसँग विवाह गराइन्छ। भक्तजनले घरघरमा तुलसीको मठ गाईको गोबर र रातो माटोले सजाएर फूलमालाले विशेषरूपमा सिँगार्दै पूजा गरिरहेका छन्।


OM Sai Pathibhara Hospital

तुलसी विष्णुप्रिया भएकाले आस्थाका साथ तुलसी विवाह गराउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। विष्णुको पूजा गरिएको घरलाई सुरक्षित र पवित्र मान्ने परम्पराले हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने चलन राखेका छन्। तुलसीको महिमा स्वास्थ्य लाभका लागि पनि महत्वपूर्ण मानिन्छ; यसको पात, डाँठ वा फूलको रसले रुघाखोकीजस्ता रोग निको हुने विश्वास छ भने, तुलसीको चिया रोग प्रतिरोधी क्षमता बढाउन सहयोगी रहेको आयुर्वेद चिकित्सकहरू बताउँछन्।


आज काठमाडौँ उपत्यकाका चार नारायण मन्दिर, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायणमा विशेष मेला लागिरहेको छ। बूढानीलकण्ठ नारायणस्थानमा पनि विशेष मेला आयोजना गरिएको छ, जसमा हजारौं भक्तजनले सहभागिता जनाइरहेका छन्।