काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो छठपर्व आज सम्पन्न भएको छ। तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल र देशभरका जलाशयमा श्रद्धालुहरूले यो पावन पर्व मनाएका छन्। पारिवारिक सुख, शान्ति, समृद्धि र रोगबाट मुक्ति प्राप्त होस् भन्ने कामनासहित पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनहरूको भीड लागेको थियो।

छठपर्वको दोस्रो दिन बुधबार भक्तजनहरूले खर्ना मनाए। खर्नाको दिन बर्तीहरूले दिनभरि निराहार उपवास बसेर राति षष्ठी देवीको आगमन निम्त्याउँदै कूलदेवताको पूजा गरेका थिए। बिहीबार साँझ, षष्ठीका दिन, बर्तीहरूले गहुँ, चामल कुटेर बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकिया, र विभिन्न फलफूलसहित परिवारसँग छठघाट पुगेका थिए।

OM Sai Pathibhara Hospital

साँझ अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक आराधना गर्दै भक्तजनहरूले पानीमा पसेर अर्घ्य दिएका थिए। हातमा पिठार र सिन्दुर लगाई अस्ताउँदो सूर्यलाई दुवै हातले अर्घ्य अर्पण गर्दै सूर्योपासनाको यो विशेष पर्व सम्पन्न गरेका हुन्।