काठमाडौं–आज कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदै नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन, भाइटीका पर्व, श्रद्धा र परम्परासाथ मनाइएको छ। तिहारलाई यमपञ्चकका रूपमा पनि चिनिन्छ, र यस पाँचौं तथा अन्तिम दिनमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन्।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर स्नेह अभिवृद्धि गर्नु, र दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउनु परम्परागत मान्यता हो। दिदीबहिनीबाट टीका लगाउँदा अखण्ड सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको बताइन्छ। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, र विशेष परिकार दिन्छन्, भने दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई उपहार र दक्षिणा दिन्छन्।
यस अवसरमा काठमाडौंको रानीपोखरीको बालगोपालेश्वर मन्दिर र जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिर दिदीबहिनी नहुने दाजुभाइका लागि विशेष पूजा र टीका लगाउन खुला गरिएका थिए। बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजको दिनमात्र खुल्छ।