काठमाण्डौ  ।   राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा टीका र जमरा ग्रहण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षिय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरे ।

OM Sai Pathibhara Hospital

सोही अवसरमा उनले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यहरुलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

विजयादशमीका उपलक्ष्यमा आजै दिउँसो राष्ट्रपति पौडेलले ३ः०० बजे देखि ३ः३० बजेसम्म विशिष्ट व्यक्तित्वहरु तथा र ३ः३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिने कार्यक्रम छ ।

साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि दसैँको टीका र जमरा लगाइदिनुहुने कार्यक्रम छ । यसैगरी दिउँसो ३ः३० देखि ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई पनि राष्ट्रपति पौडेलले टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।दसैँलाई असत्यमाथि सत्यको विजयको प्रतीक र देवी दुर्गाले महिषासुर दैत्यलाई पराजित गरेको कथासँग जोडिएको छ । 

दसैँको टीकाले धार्मिक, सांस्कृतिक, र पारिवारिक रूपमा गहिरो महत्व राख्दछ, जसले नेपाली समाजमा एकता, प्रेम र शान्तिको भावना प्रवर्द्धन गर्ने समेत विश्वास लिइएको छ ।