काठमाडौं– काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे ।
सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए।
मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।
खाने पानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी लैजाने विषयमा सहमति भएपछि आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको थियो । दशैं अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार राति मेलम्ची पुगेर त्यहाँका सङ्घर्ष समितिसँग वार्ता गरेको थियो ।
वार्तापछि बाढी पीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पथान्तरण गर्नका लागि मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।
बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको छ। मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि केयूकेएलले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।
विसं २०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा त्यहाँको पानी वितरण हुन सकेको छैन। काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी रहेको छ।
दोस्रो र तेस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट थप १७-१७ करोड लिटर पानी ल्याइनेछ। तीन चरण गरेर दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भनिए पनि निर्माणको काम सुरु भएको छैन।
मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार सात सय किमि नयाँ पाइपलाइन विस्तार गरिसकिएको छ । स्वयम्भू, ताहाचल, बालुवाटार, विशालनगर, पानी पोखरी, मन्डिखाटार र चाबहिल क्षेत्रमा सात सय ६० किमिमध्ये करिब सात सय किमिपाइप बिछ्याइएको मेलम्ची उपआयोजना–२ ले जनाएको छ।
आगामी पुस दोस्रो सातासम्म सबै पाइपलाइन विस्तार गरेर उपत्यकामा नयाँ नेटवर्कबाट पानी वितरण गर्ने योजना रहेको मेलम्ची उपआयोजना–२ ले जनाएको छ ।