काठमाडौं— विगतमा घटस्थापनादेखि खाद्य कम्पनीले खसी–बोका र च्यांग्रा बिक्री गर्दै आएकोमा यसपटक अविरल वर्षाले सडक अवरुद्ध पारेका कारण ढिलाइ भएको छ।
खाद्य कम्पनीका सिइओ रमेश आचार्यले शनिबार बेलुकासम्म खसी–बोका र च्यांग्रा काठमाडौं ल्याइसक्ने र आइतबारबाट बिक्री थाल्ने जानकारी दिए।
जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो १२ सय ३० र जिउँदो खसी–बोकाको मूल्य ६ सय ३० रुपैयाँ प्रतिकिलोआसपास राख्ने तयारी भइरहेको उनले जानकारी दिए।
निजी क्षेत्रले पनि दशैंका लागि खसी–बोकाको आपूर्ति बढाउन थालेको छ। कलंकी, टुकुचालगायतका बजारमा खसी–बोका ल्याएर बिक्री थालिएको काठमाडौं चौपाया खरिद–बिक्री वधशालाका अध्यक्ष जनक खड्काले जानकारी दिए।
उनका अनुसार दैनिक २५ गाडीसम्म खसी–बोका ल्याउने गरिएको छ। जिउँदो च्यांग्रा प्रतिकिलो १२ सय ५० र खसी–बोका ६ सय ५० देखि ६ सय ९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको उनले बताए।
‘विगतमा जस्तै यसपटक पनि दशैंमा ५० हजार खसी–बोका बिक्री हुने अनुमान गरेर आयातको प्रबन्ध मिलाइएको छ,’ उनले भने, ‘मागअनुसार आपूर्ति गर्न कुनै समस्या हुनेछैन ।’