काठमाडौं–नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याल नियुक्त भएकी छन्। सरकारको भदौ २० गतेको मन्त्रिपरिषद् निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चार वर्षका लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो।
नेपाल टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले आज जानकारी दिए अनुसार, यसअघि उनी २०८० साल असोज १७ गतेदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन्।
संगीता पहाडी अर्यालले २०४९ सालमा अस्थायी रुपमा इन्जिनियर पदबाट नेपाल दूरसञ्चारमा प्रवेश गरेकी थिइन् भने २०७८ माघमा नायब प्रबन्ध निर्देशकको पदमा नियुक्त भएकी थिइन्। पदभार ग्रहण गर्दै उनले सरकारको विश्वासप्रति आभार व्यक्त गर्दै कम्पनीलाई नयाँ उचाइमा लैजाने प्रतिबद्धता जनाइन्।






































