काठमाडौं- अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोष कार्यसमितिका वैकल्पिक सदस्य डाक्टर महेश्वर ढकालले जलवायु परिवर्तनका नाममा आएको सहयोग फिर्ता हुनु दुर्भाग्य भएको बताएका छन् । 

उनले नेपाल जस्तो मुलुकले जलवायु अनुकुलन र क्षतिपूर्ति वापतको रकम अन्तर्राष्ट्रिय जलवायु वित्त कोषबाट ल्याउनुपर्ने आवाज उठिरहँदा प्राप्त रकम पनि खर्च गर्न नसकेर फिर्ता हुनुले विश्वजगतमा सकारात्मक सन्देश नजाने तर्क गरे । 

OM Sai Pathibhara Hospital

दिगो विकास इन्स्टिच्युटले ललितपुरमा गरेको कार्यक्रममा उनले जलवायु परिवर्तन न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोग ल्याउनुपर्ने सम्बन्धमा दबाब दिएसँगै प्राप्त रकम खर्च गर्न विश्वासिलो, भरपर्दो र क्षमतावान संरचनाको विकास गर्नु पनि उत्तिकै आवश्यक रहेको बताए । 

उनले जलवायुजन्य विपद्बाट हुने हानी, नोक्शानी न्युनिकरण तथा क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय दबाबसँगै राष्ट्रिय तयारीलाई पनि अघि बढाउनुपर्ने सुझाएका छन् । 

अन्तर्राष्ट्रिय हानी तथा नोक्शानी सम्बोधन कोषमा वित्तीय परिचालनको कार्यविधि तथा मापदण्ड लचिलो बनाउनका लागि पहल र दबाब दिने काम भइरहेको पनि उनले जानकारी दिए । 

कोषको रकम सिधै सरकारको संरचनामा जम्मा गर्दा विभिन प्रक्रियागत जटिलताका कारण विपद् पीडितको पहुँचमा पुग्न कठिन हुने जोखिमलाई मध्यनजर गरी अन्तर्राष्टिय निकायले विश्वास गरेका संरचनाहरुलाई जिम्मेवारी दिनुपर्ने उनको तर्क छ । 

त्यसका लागि आवश्यक ऐन तथा नीतिहरु पनि परिमार्जन गर्न ढिलाई गर्न नहुनेमा पनि उनले जोड दिए । 

उनले धेरै संस्थाहरु श्रृजना गर्दा अनावश्यक खर्च बढ्ने भन्दै भएकै संरचनाहरुलाई हानी, नोक्शानी वापत प्राप्त हुने रकमको परिचालनको जिम्मा दिनुपर्ने सुझाव समेत दिएका छन् ।