काठमाडौं–आकर्षक तलबको प्रलोभनमा ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । दाङका देव सुनार र भीम सुनार‚ पाल्पाका सुमन थापा‚ र कालीकोटका कन्नजित राउत समातिएका हुन् । उनीहरूले ९ जना पीडितबाट ९५ लाख ३४ हजार रुपैयाँ ठगी गरेको खुलासा भएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले देव र भीमलाई कञ्चनपुरको गड्डाचौकीबाट‚ सुमनलाई काठमाडौंको टोखा नगरपालिका–३ बाट‚ र कन्नजितलाई काठमाडौंको पशुपतिबाट पक्राउ गरेको हो । पीडितहरूका उजुरीको आधारमा प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ।

OM Sai Pathibhara Hospital

त्यस्तै‚ प्रहरीले विभिन्न सामाजिक संजालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको अभियोगमा महोत्तरीका रोहित रन्जन यादवलाई पनि पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायकमा बस्दै आएका २२ वर्षीय यादवले थाइल्याण्डमा बसोबास गर्ने एलेन अरबि श्रेष्ठको मृत्यु भएको नक्कली कथा बनाएर ठगी गरेको खुलेको छ  ।

यादवले थाइल्याण्डस्थित बैंक खातामा रहेको ८५ लाख अमेरिकी डलर निकाल्न उत्तराधिकारी बनाई दिन्छु भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरूको बैंक खातामा ९९ लाख ६४ हजार ७ सय रुपैयाँ ठगी गरेका थिए । यादवलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीमा पठाएको छ ।