काठमाडौँ–आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाइरहेका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी भनिन्छ ।

देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन भइरहेको छ । भक्तजनहरू व्रत बसी रातभर जाग्राम बसेर भगवानको पूजा आराधना गर्छन् ।

OM Sai Pathibhara Hospital

पौराणिक ग्रन्थअनुसार श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेका थिए । उहाँले सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

काठमाडौँको पाटन, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, बत्तीसपुतली लगायतका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि भोलि शोभायात्रा निकालिन्छ ।

विभिन्न सामुदायिक एवं संस्थागत विद्यालयले बालबालिकालाई श्रीकृष्ण एवं राधाका रुपमा शृङ्गार गरेर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यसबाट बालबालिकामा यस पर्वको महत्व बुझ्न सहयोग पुगेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।