काठमाडौं- राष्ट्रिय सभामा सांसदहरूले समसामयिक विषयमा सरकारको खबरदारी गरेका छन्। पछिल्लो समय नेपालमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले कदम चाल्नुपर्नेदेखि देशको समग्र विकासमा साझा सोच बनाउने अवधारणासम्म आइतबारको राष्ट्रिय सभा बैठकमा उठेको छ । 

नेकपा एमालेकी सांसद सुमित्रा बिसीले सडक सुव्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्दै असारे बजेटका नाममा अन्तिम समयमा खर्च गर्ने हतारो रोक्न सचेत गराएकी छन् । जनताका आवश्यकताबारे सरकार किन सचेत नभएको भन्ने प्रश्न बिसीको छ । 

OM Sai Pathibhara Hospital

बैठकमा नेपाली कांग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताए । सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको तर्क शर्माको छ। 

नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) को धारणा रहेको बताउँदै उनले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने माग गरिन्। 

सोलुखुम्बुको थामेमा हिमताल फुटेपछि गाउँ नै बगाउँदा नागरिकमा त्रास फेलिएको स्मरण गर्दै सांसद वामदेव गौतमले समयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने तर्क गरे । अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको बताउँदै उनले सचेत बने जोगाउन सकिने दावी गरेका छन् । 

सांसदहरूले अब राजनीतिक दल र सरकारले जनताका समस्यालाई महशुस गर्दै समस्या समाधान गर्ने रणनीतिसहित काम नगरे जनतामा राजनीतिकप्रतिको वितिष्णा बढ्दा नेता सांसदलाई नै कठिन हुने आवाज उठाएका छन् ।