म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । 

उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।

OM Sai Pathibhara Hospital

प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।

मृतक बिनाकुमारीको टाउको लगायत शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । हत्या गरेर फरार भएका अभियुक्त दलबिरलाई राती करिब पौने ११ बजे सोही वडाको खतेन गाउँमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा स्थानीयको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही समय अघि मात्र उनिहरु बिच जग्गा किनबेचको विषयमा विवाद भएको एक स्थानीयले बताए ।  घटनास्थलमा वडा अध्यक्ष मोतिप्रसाद बुढा, इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली लगायत पुगेका थिए ।