गगन थापाले भने , ‘गीत, संगीत, कला जे जे भनेपनि सबै यति धेरै त्यो हाम्रो राजनीतिक गतिविधिको वरीपरी घुम्न थालेको छ । गाली गरेपनि त्यसमा नै, नयाँ सृजना गरेपनि त्यसमै, रेडियोमा बोल्दै त्यो प्रस्तोताले पनि दुई वटा गीतको बीचमा पनि राजनीतिक वरीपरीकै कुरा भनिरहेको हुन्छ । त्यो भन्दा पर जान सकेका छैनौ । जसले गर्दा त्यो ओभर क्राउडेट भएको छ । सामाजिक सञ्जालमा त्यसैमा टिप्पणी गरिराखेको छ । त्यसैले रेडियोमा आउने साथीहरुले नयाँ नयाँ कुरा सृजना गर्छु भन्ने ठान्ने हो भने त्यो भन्दा बाहिर मानिसहरुले फरक कुराहरु पनि सुन्न चाहिरहेको छ । त्यसरी सोच्ने हो भने मुलुकमा अहिले पनि रेडियोको ठूलो बजार छ भन्ने मैले ठानेको छु । सबभन्दा ठूलो कुरा भनेको हामीहरुले सही सूचना दिन सकिरहेका छैनौै । हामीलाई आजभोली कहीँ गएर बोल्दा डर लाग्छ–मैले अहिले १० मिनेट यहाँ बोलेभने साँझ सुन्न स्रोतसम्म पुग्दा वा हेर्ने दर्शकसम्म पुग्दा त्यो दश सेकेन्डको मात्रै हुन्छ । त्यो दश सेकेण्डले मेरो १० मिनेटका भाव बोक्दैन । तर त्यसैको आधारमा मेरो धारणा बनाउँछ । जसले बजाएको छ, उसलाई आज मैले देखाईदिए भन्ने लाग्छ । तर कुनै बेला ऊ आफैँ हेर्नेमा पर्छ । यसकारण हामी एक अर्काका पीडित हौं । हाम्रो सामाजिक सञ्जालको जुन उद्योग छ, त्यसले पनि एकअर्कालाई दुःख दिईराखेको छ । यसबाट माथि उठ्नुपर्छ ।’