काठमाडौं— गोरखा, चितवन , लमजुङ र मोरङमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै गोरखाको आरुघाटमा ७५ दशमलव ६ मिलिमिटर वर्षाको मापन भएको छ ।

यस्तै मोरङको केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २  र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

काठमाण्डौ, सिन्धुपाल्चोक, बारा, मकवानपुर , दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सिराहा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

सिन्धुपाल्चोकको मानेखर्क, ढुङ्गे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रे लगायत आसपासका वर्षामापन केन्द्रहरूमा सामान्यदेखि मध्यम वर्षा मापन र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा लगायत मधेश  र कोशी प्रदेशका धेरै ठाउहरुमा सामान्यदेखि मध्यम वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा सो क्षेत्र भइ बहने स–साना नदीहरूमा जलसतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।