काठमाडौं–सिलिकन भ्यालीकी अग्रणी, गुगल र युट्युबलाई आकार दिन मद्दत गरेकी सुजन वोज्स्कीको निधन भएकाे छ   । फोक्सोको क्यान्सरसँगको दुई वर्ष लामो लडाइँपछि ५६ वर्षको उमेरमा उनको निधन भएको हो । 

श्रीमान् डेनिस ट्रोपेरले मेटामा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् । उनले भने छन्, ‘सुजन मेरो जीवनको सबैभन्दा राम्रो साथी र साझेदार मात्र होइन, एक अद्भुत मस्तिष्क, मायालु आमा, र धेरैको प्रिय साथी थिइन् । उनको प्रभाव हाम्रो परिवार र संसारमा अपार थियो ।’ 

OM Sai Pathibhara Hospital

सुजन वोज्स्कीको जन्म सान्ता क्लारा, क्यालिफोर्नियामा भएको थियो । १९९८ मा, वोज्स्कीले आफ्नो ग्यारेज ल्यारी पेज र सर्गेई ब्रिनलाई भाडामा दिइन्, जो गुगल निर्माणको संघारमा थिए । 

वोज्स्कीले चाँडै नै गुगल कम्पनीको सम्भावना देखेर इन्टेलमा आफ्नो जागिर छोडेर आइन् । उनी गुगलको पहिलो बजार प्रबन्धक बनिन् । वोज्स्कीले २००६ मा गुगलले युट्युब किन्ने क्रममा ठूलो भूमिका खेलिन् । उनलाई २०१४ मा युट्युबको सीईओ नियुक्त गरिएको थियो । 

२०२३ मा, वोज्स्कीले आफ्नो परिवार, स्वास्थ्य, र व्यक्तिगत परियोजनाहरूमा ध्यान केन्द्रित गर्न नयाँ अध्याय सुरु गर्न राजीनामा दिएकी थिइन् । गुगलका सीईओ सुन्दर पिचाईले वोज्स्कीलाई सधैं अरूलाई पहिलो स्थानमा राख्ने भनेर सम्झिए ।