काठमाडौं–जबरजस्ती करणीको अभियोगमा तीनजना पक्राउ परेका छन्।
प्युठानको मल्लरानी गाउँपालिका-२ नाकेटाकुराबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय केशव घर्तीमगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको टोलीले घटनास्थलमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
त्यस्तै, पाल्पाको पूर्वखोला गाउँपालिका-१ बाट ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय धन बहादुर कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। धन बहादुरमाथि मंगलबार राति ती महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।
त्यसैगरी, पाल्पाको तानसेन नगरपालिका-७ कुन्सरेमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४३ वर्षीय ईन्द्रबिर झेडीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले तीनवटै घटनामा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।






































