काठमाडौं— एक महिने लामो गुँला पर्व आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदा पारुबाट यो पर्व सुरु हुने गरेको छ।

पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन छ। प्रत्येक दिन बिहान गुला बाजागाजाकासाथ बौद्ध धर्मालम्बीहरूले आफनो छुटाछुटै रुपमा बहाबहीहरूको परिक्रमा गर्ने गर्दछन्।

OM Sai Pathibhara Hospital

गुला बाजा टोलीमा बाँसुरी, खिं (एक प्रकारका मादल) लगायतका बाद्यबादन बजाई एक टोली जाने गर्दछन्। काठमाडौ उपत्यकामा विशेष गरेर शाक्य र बज्राचार्य थर भएका समुदायले बाजा बजाउने चलन छ।

पर्वका क्रममा दैनिक बिहान बाजागाजा बजाई मठमन्दिर, वौद्ध विहार र चैत्यमा जाने गर्दछन्। शाक्य बज्राचार्यबाहेक यो बाजा कंशाकार, मानन्धर अनि प्रजापति थरका समुदायले पनि बजाई छुटाछुटै रुपमा परिक्रमा गर्ने गर्दछन्। उनीहरू पनि यसरी नै आआफ्नो क्षेत्रका बहाबहीमा बाजागाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन्।

गुँला बाजाको टोलीले नाग पञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनैपूर्णिमा पाटनको बङ्गलामुखी मन्दिर पुग्ने गर्दछन्। साथै कृष्ण जन्माष्टमीका दिन काठमाडौंको स्वय्म्भुनाथ, विजेश्वरी, शोभा भगवती, मरुगणेश, जनबाहाल, सेतो मच्छिन्द्रनाथ परिक्रममा गरिने चलन छ।

साथसाथै यो अवधिमा भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवता घर, दत्तात्रय, पाचतल्ले मन्दिर, कमलविनायक परिक्रममा गरिने परम्परा छ। अन्तिम दिन गुला प्रतिपदाका दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुदै चोभारको करुणामय (आदित्यनाथ) परिक्रमा गर्ने परम्परा छ।