काठमाडौं— नेपालमा एक जना प्रहरीले ३८५ नागरिकको सुरक्षा गर्ने गरेको छ । नेपाली नागरिकको संख्या र प्रहरी संख्याको अनुपातले यसलाई देखाएको हो । 

केन्द्रीय तथ्यांक कार्यालयका अनुसार प्रहरी र नागरिकको अनुपात अनुसार अहिले एक प्रहरी बराबर ३८५ व्यक्ति हुन आउँछन् ।

OM Sai Pathibhara Hospital

यो अनुपात अत्यधिक रहेको प्रहरी अधिकारीहरू बताउँछन् । संयुक्त राष्ट्रसंघको मापदण्ड अनुसार एक प्रहरी बराबर २२० नागरिक हुनुपर्छ । 

तर झण्डै दोब्बर संख्याका मानिसलाई नेपाल प्रहरीले सुरक्षा दिनुपर्ने हुँदा शान्ति सुरक्षामा स्वाभाविक रुपमा असर पर्ने गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार १२७ एकाइमा प्रहरी खटिँदै आएका छन् । जसमा ९६ वटा अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ९ कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्, राजदूतावासा, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागा, आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालय, पर्यटक प्रहरी र वैदेशिक रोजगार विभाग गरी १२७ एकाइमा २ हजार २६६ प्रहरी खटिँदै आएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक भएको १५ औँ आयोजनामा समेत आर्थिक वर्ष २०८०/८१ मा एक प्रहरी बराबर २८० नागरिकको सुरक्षा जिम्मा हुनुपर्ने लक्ष्य राखिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा एक प्रहरी बराबर ३९५ नागरिक थिए । अहिले यो संख्या ३८५ मा झरेको छ ।

नेपाल प्रहरीमा अहिले ७९ हजार ५४१ दरबन्दी छ । जसमा ३ देखि ४ हजारसम्म दरबन्दी प्राय: खाली रहन्छन् । खाली रहेका दरबन्दीलाई समेत कटाएर हिसाब गर्ने भने भने एक प्रहरी बराबर ४ सय नागरिकभन्दा बढी हुन आउने प्रहरी अधिकारीहरू बताउँछन् । 

अहिले पनि नेपाल प्रहरीमा ३ हजार ८५७ दरबन्दी खाली छ ।