काठमाडौं–चितवनस्थित सिमलतालमा हराएको बस खोज्न थालेको दुई साता भइसक्यो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट दुईवटा बस त्रिशूलीमा बेपत्ता भएको आज १७ दिन भयो ।

खोजीमा नेपाली मात्रै नभएर भारतको राष्ट्रिय आपदा मोचन बलका १२ जनाको टोली पनि खटिएको छ । पहिरोले बगाएको बस र यात्रुको अवस्थाबारे कुनै ठोस जानकारी मिल्न सकेको छैन ।

OM Sai Pathibhara Hospital

गत असार २८ गते सिमलतालमा लेदोसहितको पहिरोमा परी काठमाडौंबाट गौरतर्फ जाँदै गरेको र वीरगन्जबाट काठमाडौंतिर आउँदै गरेका दुई बस त्रिशूली नदीमा खसेका थिए । दुई बसमा ६५ जना सवार भएपनि तीमध्ये तीनजना बाँच्न सफल भएका थिए ।

दुर्घटनामा परेका मध्ये हालसम्म २४ शव फेला पारिएको छ । जसमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको छ । यसबीच दुर्घटनामा परेका यात्रुको परिवारजनले आफ्नो परम्परा अनुसार दाहसंस्कार पनि गरिसकेका छन् ।

मृततको काजकिरिया भइसक्दा पनि सुरक्षा निकायले शव खोज्ने काम जारी राखेका छन् । अहिले पनि वर्षा नरोकिएको हुँदा समय समयमा त्रिशूलीमा पानीको वहाव उच्च हुँदा खोजीमा चुनौती हुने गरेको छ । खोजीमा खटिएका सुरक्षाकर्मीहरू पनि आजित भएका छन् । भारतीय टोली आज फर्कने तयारीमा छ ।