काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
२११औँ भानु जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उल्लेख गरेका छन् ।
आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपतिको भनाइ छ ।
उनले भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको समेत उल्लेख गरेका छन् ।
नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गरेका छन् ।
भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको राष्ट्रपतिले उल्लेख गरेका छन् ।
उनले नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदीरम्घामा १८७१ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो ।