विराटनगर— मध्यरातमा विराटनगरमा भएको ग्याङफाइटमा एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

दुई समूहबीच भएको झडपका क्रममा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै  झडप हुँदा कामतका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । उनीहरूको कोखा र ढाडमा गम्भीर चोट लागेको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

घटनास्थलमा फेला परेको मोवाइलका आधारमा घटनामा संलग्न भएकासम्म पुगेको दावी प्रहरीको छ । 

मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले घाइतेहरु अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । 

ग्याङफाइटका क्रममा एउटा समूह भागेको थियो । घाइतेहरुलाई बटुवाले अस्पताल पुर्‍याएका थिए । 

युवती जिस्क्याएको विषयमा विवाद भएपछि त्यो विवादले ग्याङ फाइटको रुप लिएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । 

यो विषयमा आइतबार दुई समूहबीच पनि विवाद भएको थियो ।

विवादको विषयलाई लिएर सोमबार राति मृतक तथा घाइते पक्षका १२–१३ जनाको समूह बाटो ढुकेर बसेको थियो । राति अर्को समूह पनि आएपछि झडप भएको थियो  ।

झडपका क्रममा पक्राउ परेका शेर्पाले साथमा बोकेको कैंचीले  मृतक करणलाई प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ । 

कैची प्रहार गर्दा तीन जनालाई गम्भीर चोट लागेको थियो ।  घटनामा प्रयोग भएको कैची विराटनगर अस्पताल अगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको प्रहरीले बताएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।