बाँके— बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।

कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।

OM Sai Pathibhara Hospital

आइतबारको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । 

अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण गर्दै जाने गरी तीव्र गतिमा काम गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको उनले बताए । 

एक पटकको ठुलो वर्षा भई सकेर नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परिसकिएपछि मात्रै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरिएकोमा त्यसको सर्वसाधारणले आलोचना समेत गरेका छन् ।

कोहलपुर ८ का स्थानीय स्थानीय दिनेश थापाले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ कार्यान्वयन गरेर जाने बेलामा पारित गरिएकोले अब हुने सबै काममा ढिलाइ हुने गुनासो गरेका छन्।  

उता, कोहलपुरका विपद् व्यवस्थापन शाखा प्रमुख वीरबहादुर थापाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको बताए । 

उनका अनुसार समितिले यो बर्खायाममा बाढी र डुबानबाट नगरका १५ वडाका तीन हजार एक घरधुरीका १३ हजार ६३० परिवार प्रभावित हुने प्रक्षेपण गरेको छ जनाउँदै सबैभन्दा धेरै वडा नम्बर १, ८, ९, १२, १३ र १४ मा बाढी र डुबानको जोखिम देखिएको छ ।

प्रतिकार्य योजनामा वडा नम्बर १२ मा एक हजार घरधुरीका चार हजार दुई जना प्रभावित हुने प्रक्षेपण गरिएको छ । थारुगाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दरबस्ती, मसुरीखेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेको पहिचान भएको प्रतिकार्य योजनामा उल्लेख छ ।

यसैगरी, वडा नम्बर १३ का सिमरी, झोलुङ्गे पुलको दायाँबायाँ, भरैया, थारुगाउँ, खड्कवार, नेरामाविको उत्तरवस्ती गरी १७५ घरधरीका ७४० परिवार प्रभावित हुने अनुमान गरिएको छ । वडा नम्बर १४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका आठ सय परिवार जोखिममा छन् ।

वडा नम्बर ८ का आठ सय घरधुरीका तीन हजार दुई सय परिवार जोखिममा रहेका छन् । सो वडाका मुन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् । वडा नम्बर ९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका एक हजार १९५ परिवार प्रभावित हुने आङ्कलन गरिएको छ ।

वडा नम्बर एकका सबै टोल जोखिममा रहेका छन् । सो वडाका १५० घरधुरीका ७५० परिवार प्रभावित हुने आङ्कलन गरिएको छ ।

यसैगरी, वडा नम्बर १० मा एकतानगर, चटार गाउँ, रामनगर, जीवनज्योति स्कुल आसपास, डुडुवाखोला आसपासका १२० घरधुरीका छ सय परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहिणी खोला बग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरणनालाले यसक्षेत्रका सर्वसाधारणलाई बाढी र डुबानको जोखिममा पार्ने गरेका छन् ।