काठमाडौं  ।   यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन्।

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतका कर्मचारीबाट प्राप्ताङ्कलाई समेत रुजु गर्ने काम भइरहेको परीक्षा नियन्त्रक पौडेलले बताए। 

OM Sai Pathibhara Hospital

प्राप्ताङ्क रुजु गर्ने काम ३०/४० प्रतिशतजति सकिएको छ। यो सकिएपछि फेरि अन्तिम पटक रुजु गरिन्छ। अन्तिम रुजु पनि सकिएपछि नतिजा प्रकाशन तयारी गरिन्छ। पौडेलले भने, 'असार १४ गतेभन्दा एक दिन पनि पछि जाँदैन। सकेसम्म त्योभन्दा अघि नै प्रकाशन गर्ने गरी काम गरिरहेका छौँ।' 

बोर्डका अनुसार एसइईमा पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए। परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका थिए। प्रवेशपत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थिति भएको बोर्डले जानकारी दिएको छ। 

यस पटकदेखि परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिने छ। गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो। यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनै पर्छ। दुई विषयसम्म नन ग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेडवृद्धिको मौका दिइने छ।