हेटौंडा । मकवानपुरको हेटौँडाबाट ठूलो मात्रामा भेप तथा भेपको फ्लेवरहरू बरामद भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भेपसहित पाँच जनालाई पक्राउ गरेको हो । 

IMG-20240326-WA0001 3

OM Sai Pathibhara Hospital

मकवानपुर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैध रूपमा भन्सार छली ल्याएको दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरूसहित पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङस्थित सडकखण्डमा काठमाडौंबाट हेटौँडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको  ना६ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट उक्त परिमाणको अवैध सामान र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए।

विशेष सूचनाको आधारमा उक्त बसलाई रोकी खानतलासी गर्दा बसको सिटमाथि सिलिङको भागमा फल्सबटम बनाई लुकाइछिपाई ल्याएको अवस्थामा भेप तथा भेपको फ्लेवरहरू बरामद गरेको उनको भनाइ छ।

पक्राउ पर्नेहरूमा बसका चालक दोलखाको भीमेश्वर नगरपालिका– २ बस्ने ३७ वर्षीय सलाम मोक्तान, बसको सहचालक उदयपुरको कटारी नगरपालिका– ११ बस्ने २७ वर्षका प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका– ७ बस्ने ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही स्थानका ३० वर्षका सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका– १६ का २९ वर्षका राजकुमार हिमाङ छन्। 

प्रहरी उपरीक्षक रिजालले बरामद सामान काठमाडौंको बालाजु बसपार्कभन्दा माथि भत्केको पुलको एरियाको रमाइलो डाँडाबाट लोड भएको जानकारी दिए। 

उक्त बस नेपाल–दिल्ली चल्ने आधिकारिक बस नभएको, तर केही व्यक्तिहरूले भाडामा लिई एक महिनाका लागि नेपाल, भारत र अन्य देशका यात्रुहरूलाई भारत घुमाउने भनी नेपालस्थित भारतीय दूतावासबाट ५ असार २०८१ मा रोड पर्मिट लिएको पाइएको प्रहरीले जनाएको छ।

यस्तै, पक्राउ परेका व्यक्तिहरूमध्ये केही व्यक्तिहरू पहिले पनि पटक–पटक भन्सार छलीका अवैध सामानहरू ल्याउने–लैजाने कार्यमा संलग्न रहेको पाइएको उनको भनाइ छ ।

प्रहरी उपरीक्षक रिजालले बरामद भेपका सामानहरूसहित नियन्त्रणमा लिएका मानिस र बसलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको जानकारी दिए ।