काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक आज गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको छ ।

OM Sai Pathibhara Hospital

“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत नेताहरूको कार्यविभाजन आगामी अभियानलाई प्रभावकारी बनाउनेबारे प्रशिक्षण दिएका थिए। आवश्यक गृहकार्य गरेर पुनः आज बिहान ८:३० बजे बैठक बस्नेछ,” प्रवक्ता सापकोटाले भने ।

हालै विधान सम्मेलन समापन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ ।

तराई-मधेस अभियान, उत्तर-दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताए । माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेसमा अभियान सञ्चालन गर्ने तयारी पार्टिले गरेको छ ।