एजेन्सी । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

एबीसी न्यूजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “जोर्डनस्थित अमेरिकी सैन्य शिबिरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकूविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ ।” अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमाण्ड एण्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भण्डारण र अन्य सुविधामा आक्रमण गरेका छन् । ह्वाइट हाउसले ड्रोन आक्रमणका लागि ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ नामक छाता समूह जिम्मेवार रहेको बताएको छ ।

OM Sai Pathibhara Hospital

रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा ४० जनाभन्दा बढी अमेरिकी सैनिक घाइते भएको उक्त घटना ‘इस्लामिक रेजिस्टेन्स इन इराक’ ले स्रोत साधन र सहयोग गरेको योजनाबद्ध आक्रमण भएको बताए ।

संयुक्त राज्य अमेरिकाले इजरायल–हमास द्वन्द्वपछि यस क्षेत्रमा अमेरिकी सैनिक र सैन्य सुविधाहरूमा बारम्बार आक्रमण गरेको आरोप लगाउँदै आएका कातैब हिजबुल्लाह सिरिया र इराकमा सक्रिय एक लडाकू समूह हो ।